नेपाल र चीनको कूटनीतिक सम्बन्धको ७० वर्ष पूरा भएको अवसरमा, चीनको छेन्दु र नेपालका पोखरा बीच नियमित हवाई उडान सुरु हुँदैछ। यो नयाँ उडान नेपाल र चीन बीचको हवाई सम्पर्कलाई थप प्रभावकारी र सहज बनाउने उद्देश्यले शुरु गरिएको हो। सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित उडान सञ्चालन गर्दैछ। यो उडान सिचुआन प्रान्त र नेपालका बीच पर्यटन, संस्कृति आदानप्रदान र व्यावसायिक सहकार्यको नयाँ युगको शुरुवात गर्ने विश्वास गरिएको छ। नेपाल पर्यटन बोर्डले यस उडानलाई दुई देशका नागरिकहरूबीचको सांस्कृतिक र व्यवसायिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने महत्त्वपूर्ण कदमको रूपमा देखिरहेको छ।



यस अवसरमा, नेपाली प्रतिनिधिमण्डल ‘पोखरा-छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना सेल्स मिसन २०२५’ कार्यक्रमको भाग लिन चीन जानेछ। उक्त प्रतिनिधिमण्डलले छेन्दु, लुझाउ, लेसान लगायतका चिनियाँ शहरहरूमा सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूसँग विभिन्न व्यावसायिक बैठकहरूमा सहभागिता जनाउने छ। नेपाल र चीनको बीचको यो नयाँ हवाई सम्पर्कले दुई देशका नागरिकहरूलाई एक आपसमा नजिक ल्याउने साथै, व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानका लागि नयाँ अवसरहरू सिर्जना गर्ने छ। यो कदम नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।



