सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार साँझ एउटा चकित बनाउने घटना घट्यो। पोस्टमार्टमका लागि राखिएको शव मृतकका आफन्तहरूको झुण्डले बलजफ्ती लिएर फरार भएपछि यो घटना सार्वजनिक सरोकारको विषय बनेको छ। घटनाको बेलामा प्रहरी निरीह देखिनु झनै चासोको कारण बनिरहेको छ।



शव लिएर भाग्ने घटना यस्तो थियो
बिष्णुपुर–१ निवासी ४५ वर्षीया मसुरन खातुनको मृत्यु भएपछि शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको थियो। तर, खातुनका आफन्तहरूले पोस्टमार्टम गर्न कडा विरोध जनाउँदै, अस्पतालको पोष्टमार्टम गृहमा तोडफोड गरे र शव उठाएर भागे। शव नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो, तर झुण्डले प्रहरीसँगै घम्साघम्सी गर्दै शव लिएर जिल्ला प्रहरी कार्यालयको अगाडिबाटै भाग्न सफल भयो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रकाश प्रसाद साहका अनुसार, घटना हुनासाथ जिल्ला प्रहरी प्रमुखलाई जानकारी दिइएको थियो। तर, सुरक्षा संयन्त्र तत्काल सक्रिय हुन नसक्दा शव नियन्त्रणबाहिर गएको हो। उनले भने, पोस्टमार्टम मृत्युको कारण पत्ता लगाउने कानूनी र वैज्ञानिक प्रक्रिया हो। यो नगरी शव लगिनु अत्यन्तै दुर्भाग्यपूर्ण हो, यसले अनुसन्धानमै असर पार्न सक्छ।
प्रहरी निरीह, जिम्मेवारीमाथि प्रश्न
घटनाको बेलामा प्रहरी निर्णायक उपस्थितिबिनै निरीह देखिएको दृश्य गम्भीर प्रशासनिक कमजोरीको संकेत हो। प्रहरीकै अगाडिबाट शव लिएर भागिनु न केवल कानूनी उल्लंघन हो, बरु सुरक्षा संयन्त्रको असक्षमता र जनआस्थामाथिको असर पनि हो। डिएसपी जितेन्द्र बस्नेतले घटनाको पुष्टि गर्दै भने, “हामीले घटना गम्भीरतापूर्वक लिएका छौं। संलग्न व्यक्तिहरूको पहिचान भइसकेको छ र कानूनी कारबाही अगाडि बढाइँदैछ।”



