नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्। जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको पार्टी कार्यालयको अवस्था हेर्न उनी कार्यालय पुगेका हुन्। जेनजी आन्दोलनले देशका विभिन्न भागमा उग्र रूप लिएपछि प्रचण्ड २४ भदौदेखि सेनाको विशेष सुरक्षामा थिए। आन्दोलनका क्रममा माओवादी केन्द्रको पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी भएको थियो। त्यसपछि पार्टीको केन्द्रीय गतिविधि प्रभावित बनेको थियो।
नयाँ अन्तरिम सरकार गठनसँगै अवस्था केही सामान्य भएपछि प्रचण्ड पार्टीको नियमित काममा फर्किएका छन्। उनले आजको अवलोकनका क्रममा कार्यालयमा भएको क्षतिको निरीक्षण मात्र होइन, पुनः निर्माण र पार्टी पुनर्संरचनाबारे आवश्यक निर्देशनसमेत दिएका छन्। पार्टी स्रोतका अनुसार अवलोकनपछि प्रचण्डले कार्यकर्तालाई शान्तिपूर्ण रुपमा राजनीतिक प्रक्रियामा अघि बढ्न आह्वान गरेका छन्। उनले जनताको भावना सम्बोधन गर्ने गरी पार्टीले भूमिका खेल्ने बताएका छन्। पार्टी कार्यालयमा भएको क्षति यथाशीघ्र मर्मत गर्ने र संगठनात्मक कार्यलाई तीव्रता दिने योजनासमेत उनले बैठकमार्फत अघि सारेका छन्।






