नेपाली कम्युनिष्ट पार्टीका संयोजक Pushpa Kamal Dahalले निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सबै राजनीतिक दल र नागरिकसँग अनुरोध गरेका छन्। उनले आज जारी गरेको भिडियो सन्देशमा भदौ २३ र २४ गतेका घटनालाई विध्वंसकारी भन्दै, त्यस्ता कार्यमा संलग्नहरूलाई मतदानमार्फत दण्डित गर्न जनतालाई आग्रह गरेका छन्।
जेनजी आन्दोलनपछिको अनिश्चिततालाई पार गर्दै देश अहिले निर्वाचनको मोडमा आइपुगेको भन्दै प्रचण्डले मुलुक दुईवटा अतिवादी खतरासँग जुधिरहेको बताएका छन्। अतिवादले जनताको आक्रोश भड्काएर अराजकता ल्याउन खोजेको र ‘यथास्थितिवाद’ ले दलाल र बिचौलियाको स्वार्थ मात्रै हेरिरहेको उनको भनाइ छ। उनले दाबी गरे कि यी दुबै प्रवृत्तिसँग जुधेर देश जोगाउन सक्ने शक्ति बामपन्थी आन्दोलन मात्रै हो।



उनले २५ भन्दा बढी कम्युनिष्ट, समाजवादी र प्रगतिशील समूहहरूले मिलेर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ वर्तमानमा मुल प्रवाह भएको उल्लेख गर्दै यसलाई बाम आन्दोलनको पुनर्गठनको रूपमा परिभाषित गरे।
विगतमा सरकारको नेतृत्व गर्दा विधिको शासन स्थापित गर्न र ठूला भ्रष्टाचारका काण्ड उजागर गर्न गरेको आफ्नो योगदानको स्मरण गर्दै प्रचण्डले भने, “हामीले सुशासन सुरु गर्दा डराएका माफियाहरूले संसदका पहिलो र दोस्रो दललाई मिलाए, तर प्रतिपक्षमा रहँदा पनि हामीले कुशासन र दम्भविरुद्ध निरन्तर खबरदारी गरिरह्यौं।” उनले आफ्नो दलको ‘रिपोर्ट कार्ड’ सहित जनतासँग आएको भन्दै प्रशासनिक सुधार, लोकतन्त्र सुदृढीकरण र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षामा आफू सधैं पहरेदार रहेको बताए। संविधानमा लिपिबद्ध समावेशी अधिकार, महिला, दलित, आदिवासी, मधेसी, मुस्लिम लगायत उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न दलको निर्णायक भूमिका रहेको उनको भनाइ छ।
भविष्यका योजना प्रस्तुत गर्दै प्रचण्डले शासकीय संरचना र निर्वाचन प्रणालीमा सुधार गरी देशमा राजनीतिक स्थिरता ल्याउने प्रतिबद्धता व्यक्त गरे। साथै, कृषि र उद्योगमा केन्द्रित नीति, रोजगारी सिर्जना, प्रविधि र नवप्रवर्तनको प्रोत्साहन, र सेवा प्रवाहलाई ‘लाइनबाट मोबाइल’ सम्म पुर्याउने डिजिटल सुशासनको योजना पनि उनले प्रस्तुत गरे।



