नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । प्रचण्ड र नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते चित्रकारलाई आज बिहान भेट्नु भएको हो । ७० वर्षीया चित्रकार नेकपाका नेता झलनाथ खनालकी पत्नी हुनुहुन्छ । डल्लुस्थित खनाल निवासमा पुगेर दुई नेताले चित्रकारको स्वास्थ्य अवस्था बुझ्नुका साथै स्वास्थ्यलाभको कामना गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।



चित्रकार खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको नेता खनालले जानकारी दिनुभयो । गएको भदौ २४ गते आन्दोलनका क्रममा घरमै आगजनी हुँदा घाइते चित्रकार भारतमा लामो समय उपचार पश्चात दुई दिनअघि स्वदेश फर्किनु भएको थियो । उहाँको झण्डै तीन महिनासम्म एपोलो अस्पतालमा उपचार गरिएको थियो । जलेर गम्भीर घाइते उहाँको देब्रेहात काटिएको छ । कीर्तिपुरको बर्न अस्पतालको आईसीयूमा लामो समयको उपचार गरेपछि उहाँको स्वास्थ्यमा केही सुधार आएको थियो ।



