नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, देशको वर्तमान परिस्थितिमा वाम शक्तिहरूको भूमिका, र विशेषगरी दुई पार्टीबीच सम्भावित एकता प्रक्रियाबारे गम्भीर छलफल भएको स्रोतले जनाएको छ।

गत साउन १६ देखि १९ गतेसम्म बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउने निर्णय गर्दै एकता सम्भाव्यता अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरिसकेको छ। त्यसैअनुसार प्रचण्ड र विप्लवबीचको यो भेटलाई एकताको प्रारम्भिक प्रयासको रूपमा हेरिएको छ। दुवै नेताबीच पार्टी एकताको आधार, राजनीतिक विचारधारा, रणनीति तथा भविष्यको आन्दोलनको साझा कार्यक्रमबारे समेत छलफल भएको जनाइएको छ।

नेकपाले भने यही भदौ २२ गते बस्ने केन्द्रीय समिति बैठकमा एकताको विषयमा औपचारिक निर्णय गर्ने तयारी गरेको छ। नेकपा स्रोतका अनुसार एकताप्रति सकारात्मक माहोल बनेको छ र आवश्यक सैद्धान्तिक र सांगठानिक सहमति जुटाउन नेताहरु आन्तरिक रुपमा सक्रिय छन्। प्रचण्ड–विप्लवबीच पछिल्लो समय देखिएको नजिकपना र संवादले मुलुकमा बाम एकताको नयाँ सम्भावना देखिएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ। यद्यपि, एकताका लागि अझै केही विचारगत र सांगठनिक विषयमा सहमति जुटाउनु पर्ने चुनौती भने कायमै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय