प्रतिनिधिसभामा अर्को अनियमितता काण्डले प्रवेश पाएको छ । भिजिट भिसा प्रकरणले दुई महिनायता प्रभावित भइरहेको प्रतिनिधिसभामा आज मन्त्रीहरूको घुसकाण्ड छिरेको हो । बैठकमा विपक्षी दलले संघीय सरकारका दुई मन्त्री राजकुमार गुप्ता र बलराम अधिकारी मुछिएको घुस प्रकरणमा सरकारको जवाफ माग गरेका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा नयाँ काण्डले प्रवेश पायो । त्यो हो, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको घुस डिल ।मन्त्री गुप्ताले जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवामा ५३ लाख रुपैयाँ डिल गरेको र अधिकारीले भूमि आयोगको कास्की जिल्ला अध्यक्ष बनाउन खेमबहादुर पुनसँग २५ लाख रुपैयाँ लिएर पनि काम नगरेको भन्ने विषयमा प्रकाशित समाचारमा सांसदहरुले सभामुखसहित सरकारको ध्यानाकर्षण गराए ।जेठको दोस्रो हप्तादेखि नै भिजिट भिषा प्रकरणमा संसदमा विरोध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भिजिट भिसा तथा स्पेनमा आयोजित प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रमका क्रममा भएको भनिएको तस्करीसँगै यो विषयलाई संसदमा प्रवेश गरायो ।



सुशासनको कुरा गर्ने गरेको सरकारका मन्त्रीकै काण्ड बाहिरएको भन्दै श्रेष्ठले घुस डिल गरिएको अडियोमा भनिएका बा को हुन् भन्ने प्रश्न गर्नुभयो ।
प्रतिनिधसभा बैठकमा माओवादीले पनि मन्त्रीहरुको घुस प्रकरणमा सरकारको जवाफ मागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सरकारी कार्यालयका भित्ता(भित्तामा सुशासनका नारा लेखेर टाँसेको तर उहाँकै क्याबिनेटका मन्त्रीहरुले घुस डिल गरिरहेको भन्दै एकीकृत समाजवादी पार्टीका वरिष्ट उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारी शैलीमाथि व्यंग्य गर्नुभयो ।
प्रतिनिधिसभा बैठकमा भिसा प्रकरणमा रास्वपा, राप्रपा लगायतका सांसदहरुको विरोध जारी रहेका बेला घुस काण्डले प्रवेश पाएको हो । त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमणका क्रममा पनि उहाँको कार्यक्रममा सहभागी गराउने भन्दै विचौलियाले नेपालीहरुलाई लगेर उतै छोडेको विषय पनि संसदमा उठिरहेको छ । यी काण्डमा रास्वपा र राप्रपाले संसदीय छानबिन समिति बनाउन माग गरिरहेका बेला मन्त्रीले घुस डिल गरेको अर्को काण्डले संसदमा प्रवेश पाएको हो । यो नयाँ काण्डबारे सरकारले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।



