काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारमाथि परेका उजुरीको जाँचबुझ जारी रहेको छ । निर्वाचन आयोगका अनुसार उजुरीमाथि आवश्यक जाँचबुझ गरी आजै बेलुकी उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी छ । आयोगका अनुसार बुधबार दिउँसो ३ बजेदेखि सुरु भएको जाँचबुझ प्रक्रिया आज बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ । जाँचबुझ र निर्णयपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली सार्वजनिक गरिने निर्वाचन कार्यक्रम रहेको छ ।



निर्वाचन तालिकाअनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह वितरण गरिने आयोगले जनाएको छ ।
आयोगका अनुसार देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार हालसम्म तीन हजार ४८७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये पुरुष ३,०८९, महिला ३९६ र अन्य एक जना रहेका छन् ।



