काठमाडौं — प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएका १६ महिला उम्मेदवारमध्ये १३ जना विजयी भएका छन् भने तीन जना उम्मेदवार पराजित भएका छन्।
जुम्लामा उम्मेदवारी दिएकी बिनिता कठायत ज्ञानेन्द्र शाहीसँग पराजित भइन्। सुनसरी–१ मा सरिन तामाङ हर्कराज राईसँग हारिन् भने हुम्लामा उम्मेदवारी दिएकी टासी ल्हान्जोम चौथो स्थानमा सीमित भइन्।
काठमाडौं–१ बाट रञ्जु दर्शनाले पार्टीका लागि पहिलो जित दर्ता गरिन्। उनले १५ हजार ४५५ मत ल्याउँदै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीलाई पराजित गरिन्। ललितपुर–३ बाट तोषिमा कार्की दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्। उनले ४३ हजार ९६ मत प्राप्त गर्दै कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका राजकाजी महर्जनलाई पछि पारिन्। यसअघि २०७९ को निर्वाचनमा उनले पम्फा भुसाल र अमृत खड्कालाई हराउँदै पहिलो पटक जित हासिल गरेकी थिइन्।



२०७९ मा काठमाडौं–२ बाट सांसद बनेकी सोविता गौतम यसपटक चितवन–३ बाट विजयी भइन्। उनले ५९ हजार २७७ मत ल्याएर भरतपुर महानगरपालिकाकी पूर्व मेयर रेनु दाहाललाई पराजित गरिन्।
मोरङ–६ बाट रुबिना आचार्य ५५ हजार ५१३ मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कोइरालाले १२ हजार ८५० मत पाए भने एमालेका विनोद ढकाल ८ हजार ३१७ मतमा सीमित भए। कास्की–३ बाट बिना गुरुङ विजयी भइन्। सामाजिक क्षेत्रमा सक्रिय उनी पोखरामा समाजसेवामा परिचित व्यक्तिका रूपमा चिनिन्थिन्।
कैलाली–१ बाट कोमल ज्ञवाली १७ हजार ८६२ मतसहित निर्वाचित भइन्। टिकापुरकी स्थानीय बासिन्दा उनले व्यवस्थापन विषयमा स्नातक गरेकी छिन् र राजनीतिमा आउनुअघि कृषि व्यवसायमा सक्रिय थिइन्।मोरङ–५ बाट आशा झा पनि फराकिलो मतान्तरले विजयी भइन्। उनले ३० हजार ४३४ मत ल्याउँदै कांग्रेसका फुलकुमार लालवानीलाई पराजित गरिन्। जनस्वास्थ्यमा स्नातक गरेकी झा राजनीतिमा आउनुअघि स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्थिन्।
सर्लाही–१ बाट नितिमा भण्डारी कार्की ४४ हजार १८१ मतसहित निर्वाचित भइन्। उनका प्रतिस्पर्धी कांग्रेसका शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत पाए भने एमालेका मनोजकुमार देवकोटाले ६ हजार १०१ मत मात्रै प्राप्त गरे। झापा–१ बाट निशा डाँगी ४५ हजार ६८० मत ल्याउँदै विजयी भइन्। उनी २०७९ मा समानुपातिकतर्फबाट संसद पुगेकी थिइन् र त्यतिबेला सबैभन्दा कम उमेरकी सांसदका रूपमा चिनिएकी थिइन्।
झापा–२ बाट प्रतिनिधिसभाकी पूर्व उपसभामुख इन्दिरा राना मगर विजयी भइन्। उनले ६० हजार ११० मत ल्याउँदै एमालेका उम्मेदवार तथा पूर्व सभामुख देवराज घिमिरेलाई पराजित गरिन्। धादिङ–१ बाट आशिका तामाङ पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्। सामाजिक मुद्दामा सक्रिय रूपमा आवाज उठाउँदै आएकी उनले ३९ हजार १२८ मत प्राप्त गरिन्।
यसैगरी सप्तरी–१ बाट ३६ वर्षीया पुष्पाकुमारी चौधरी फराकिलो मतान्तरले विजयी भइन्। उनले ३८ हजार १९५ मत ल्याउँदा स्वाभिमान पार्टीका सुमितकुमारले ७ हजार ८४७ मत मात्रै प्राप्त गरे।
महोत्तरी–४ बाट गौरी कुमारी पनि विजयी भइन्। उनले ३० हजार १३२ मत ल्याउँदा जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवले ८ हजार ७४२ मत प्राप्त गरे। नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रकुमार राय ६ हजार ९४४ मतसहित तेस्रो स्थानमा सीमित भए। यस परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका महिला नेतृहरूको उल्लेखनीय उपस्थिति देखिएको विश्लेषण गरिएको छ।



