काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगबाट अन्तिम मतपरिणाम सार्वजनिक भएलगत्तै प्रतिनिधिसभा बैठक बोलाउने गरी तयारी गर्न थालिएको संघीय संसद् सचिवालयले जनाएको छ ।



नेपालको संविधानको धारा ९३ मा संसद् अधिवेशनको आह्वान र अन्त्यको व्यवस्था उल्लेख छ । उक्त प्रावधानअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्छ ।
संविधानमा ३० दिनभित्र भनिए पनि सचिवालयले भने बैठक आह्वानका लागि विगतदेखि एक वा दुई हप्ताभन्दा ढिला नगरेको सचिवालयले जनाएको छ । सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले सभामुखको भूमिका निर्वाह गर्ने कानुनी प्रावधान रहेको छ ।

निर्माणाधीन संसद् भवनको निर्माण सम्पन्न भइनसकेकाले अबको प्रतिनिधिसभाको केही समयसम्म अर्काे प्रयोजनका लागि निर्मित हलमा बस्ने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच विसं २०७६ असोज १६ गते भएको सम्झौताअनुसार संघीय संसद् भवन तीन वर्षभित्र अर्थात् २०७९ असोज १५ गतेसम्म निर्माण भइसक्नुपर्ने थियो । कोरोना महामारीलगायत विभिन्न कारण देखाउँदै हालसम्म उक्त भवन निर्माण सम्पन्न हुन सकेको छैन ।

एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । संसद् भवनभित्र मुख्य भवन आठ वटा हुनेछन् । भवनभित्र ३५० सिट क्षमताको संयुक्त लबी हुनेछ भने सानाठूला गरी १० वटा संसदीय दलका कार्यालय हुनेछन् । यसमा चार अतिरिक्त विशिष्ट कक्ष, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, दुईवटा क्यान्टिन क्रमशः १०० र ३०० जना अट्ने क्षमताका र ३९० वटा गाडी पार्किङ क्षमता हुनेछ ।



