काठमाडौं । चन्द्रागिरि नगरपालिकाको सहयोग तथा चन्द्रागिरि कला समूहको आयोजनामा सम्पन्न प्रथम चन्द्रागिरि नगरस्तरीय खुल्ला एकल (आधुनिक) गायन प्रतियोगिता–२०८३ मा ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् ।
प्रतियोगितामा विद्यालयकी विद्यार्थी आरोहा पौडेल प्रथम स्थान हासिल गर्न सफल भएकी छन् भने आरती कुमालले द्वितीय स्थान प्राप्त गर्दै विद्यालयको गौरव बढाएकी छन् । नगरस्तरमै आयोजित प्रतिस्पर्धात्मक प्रतियोगितामा विद्यार्थीहरूले आफ्नो गायन प्रतिभा उत्कृष्ट रूपमा प्रस्तुत गर्दै निर्णायक तथा दर्शकहरूको प्रशंसा बटुलेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने प्रतियोगीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो ।



ब्राइट फ्युचर माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको यो सफलता र उपलब्धिले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा कला, संगीत तथा सिर्जनात्मक क्षेत्रमा थप उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ ।
विद्यालय परिवारले विजयी विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गरेको छ । साथै, प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा प्रदर्शन गर्ने सम्पूर्ण विद्यार्थीहरूको प्रयासको समेत प्रशंसा गरिएको छ ।



