काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राईले प्रधानन्यायाधीश सिफारिश प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।



अध्यक्ष साम्पाङले आज विज्ञप्ति निकालेर चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिश गर्नु सरकारको गल्ती भएको टिप्पणी गरेका छन् । राईले उपसभामुख रुबीकुमारी ठाकुरले वरीयता उल्लंघन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि समेत व्यक्त गरेका छन् । संसद् छलेर राष्ट्रप्रमुखलाई दबाव दिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ । सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै राईले यसमा राजनीतिक र कानूनी स्वार्थ लुकेको आशंका व्यक्त गरेका छन् ।
हिजो बसेको संवैधानिक परिषद् बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।



