काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको छ। लगातारको खडेरीले धान खेती प्रभावित बनेपछि सरकारले समस्या गम्भीर भएको ठहर गर्दै साउन ७ गतेको मन्त्रिपरिषद् बैठकबाट मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। प्रधानमन्त्री ओलीले अवलोकनका क्रममा प्रभावित किसानहरूको अवस्था बुझ्नुभयो र पानी नपरेको कारण धान रोपाइँ गर्न नसकेका कृषकहरूलाई राहत तथा दीर्घकालीन समाधानबारे सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो। अवलोकनका क्रममा उहाँसँग सम्बन्धित मन्त्रालयका अधिकारी, प्रदेश सरकारका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिहरू पनि सहभागी थिए।
प्रधानमन्त्रीको भ्रमणअघि नै उहाँले जलस्रोत, कृषि तथा गृह मन्त्रालयका मन्त्रीहरू, प्रदेश सरकार र सरोकारवाला उच्च अधिकारीहरूसँग छलफल गरी समाधानका उपायबारे राय लिएको बताइएको छ। स्थानीय कृषकहरूले वर्षा अभावले ठूलो क्षति व्यहोर्नु परेको गुनासो गर्दै सरकारबाट तत्काल सिंचाइ, राहत सामग्री तथा वैकल्पिक खेतीका कार्यक्रम ल्याउन आग्रह गरेका छन्।



सरकारले सुख्खा प्रभावित क्षेत्रमा जल व्यवस्थापन, राहत वितरण र कृषि पुनरुत्थान कार्यक्रम चाँडै सुरु गर्ने बताएको छ। अवलोकनपछि प्रधानमन्त्री ओलीले संकट समाधानका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो।



