कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजना, राष्ट्रिय गौरवको आयोजनाको पहिलो र दोस्रो चरणको निर्माण कार्य १४ वर्षपछि सम्पन्न भएको छ। २१ अर्बभन्दा बढी खर्च भएको यो आयोजनाले १४ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको छ भने ४.७१ मेगावाट जलविद्युत् उत्पादन सुरु भएको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको रानी जमरा कुलरियाको मुहान लम्कीचुहा नगरपाालिका वडा नम्बर- ३, चिसापानी कर्णालीमा अवलोकन गरी जानकी गाउँपालिका–९, कटासेस्थित विद्युत् गृहमा पुगेर सिँचाइ आयोजना र ४.७१ मेगावाट जलविद्युत् आयोजनाको उद्घाटन गर्नुभयो ।

कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजना, जुन २०६६-६७ मा टीकापुरमा कार्यालय स्थापना गरी सुरु भएको थियो । यसको पहिलो र दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएको छ। यो राष्ट्रिय गौरवको आयोजनाले लम्कीचुहा, टीकापुर, भजनी, जानकी र जोशीपुर गाउँपालिकाका १४ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको छ। यसबाट २३ हजार ६२२ घरधुरीका १ लाख ४२ हजार ३६६ जना प्रत्यक्ष लाभान्वित भएका छन्।

नेपाल सरकारले इन्टेक र मूल नहरको ११ किलोमिटर निर्माण गरेको छ भने विश्व बैंकको सहयोगमा हाइड्रोपावर र फिडरको काम सम्पन्न भएको छ। आयोजनामा नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख र विश्व बैंकको ९ अर्ब ३५ करोड २३ लाख गरी कुल २१ अर्ब ३२ करोड ९८ लाख रुपियाँ खर्च भएको छ। पहिलो चरण २०७४-७५ र दोस्रो चरण २०८०-८१ मा सम्पन्न भएको यो आयोजनाले ७४-३७ किलोमिटर नहर, १०८ रेगुलेटर, ७५ पानी वितरण संरचना, ३८१ साना–ठूला पुल, २४५ किलोमिटर ग्रामीण सडक स्तरोन्नति र कर्णाली नदीमा ८० किलोमिटर तटबन्ध निर्माण गरेको छ।

आयोजनाले लम्कीचुहा नगरपालिका–३, चिसापानी कर्णालीमा बनेको इन्टेकबाट १० किलोमिटर टाढा जानकी गाउँपालिका–९, कटासेमा ४-७१ मेगावाटको जलविद्युत् गृह निर्माण गरेको छ। यहाँ ८० क्युमेक्स पानी सात मिटर उचाइबाट खसालेर तीनवटा टर्बाइनमार्फत विद्युत् उत्पादन भइरहेको छ, जुन ३३ केभी लाइनमार्फत लम्की स्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। तेस्रो चरणको काम पथरैया र कान्द्रा नदीसम्म नहर विस्तार गर्ने लक्ष्य छ। यसले थप २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउनेछ। आर्थिक वर्ष २०८५-८६ सम्म यो काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाले किसानको क्षमता विकास, कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण र पशुपालनमा समेत योगदान गरेको छ। स्थानीय किसानले आकाशको पानीमा निर्भर हुनुपर्ने बाध्यता हटेर सिंचाइ सहज भएको बताएका छन्।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कैलालीको कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याएको छ। तेस्रो चरणको काम सम्पन्न भएपछि कुल ३८ हजार ३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा छ। तर, तटबन्धको दिगोपन र बाँकी कामको समयमै सम्पन्नता सुनिश्चित गर्नुपर्ने चुनौती कायमै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय