प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामकी उपराष्ट्रपति भी थी आन सुआनबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा औपचारिक भेटवार्ता सम्पन्न भएको छ। शनिबार सम्पन्न सो भेटमा नेपाल र भियतनामबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। भेटवार्तामा विशेषगरी द्विपक्षीय व्यापार, पर्यटन, शिक्षा, कृषि, संस्कृति तथा पारस्परिक हितका क्षेत्रहरूमा सहयोग विस्तार गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुई मुलुकबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै विकासका साझेदारको रूपमा अघि बढ्ने समझदारी भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले नेपालमा लगानीका सम्भावनाहरू उल्लेख गर्दै भियतनामी निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए। उनले भियतनामको आर्थिक प्रगति र औद्योगिक विकासको प्रशंसा गर्दै दुवै देशले एक–अर्काको अनुभवबाट सिक्न सक्ने बताए। त्यस अवसरमा उपराष्ट्रपति सुआनले नेपालसँगको सम्बन्धलाई भियतनामले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै शान्ति, स्थायित्व र विकासका क्षेत्रमा भियतनाम नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताइन्। उनले भियतनाम सरकार तथा जनताको तर्फबाट नेपाली जनताप्रति शुभकामना समेत व्यक्त गरिन्।

उक्त भेटवार्ताले नेपाल–भियतनाम सम्बन्धलाई अझ गहिरो बनाउने विश्वास गरिएको छ। उपराष्ट्रपति सुआन बहुपक्षीय सम्मेलनमा सहभागी हुन काठमाडौं आएकी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय