महोत्तरी, २२ फाल्गुण – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार मुलुकको विकास र समृद्धिका लागि गठन भएको बताएका छन्। महोत्तरीको गौशाला–१, रामनगरमा बिहीबार आयोजित एक कार्यक्रममा उनले सरकारको प्राथमिकता राष्ट्र निर्माण रहेको उल्लेख गरे। नेपाल पल्स एण्ड पेपर इण्डस्ट्रि प्रालिको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा रोजगारी सिर्जना गर्ने उद्देश्यले उद्योग खोलिनु आवश्यक रहेको बताए। उनका अनुसार आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नुपर्नेछ।



उनले पूर्वराजाको पछिल्ला अभिव्यक्तिहरूप्रति प्रतिक्रिया दिँदै राजतन्त्र अब नेपालको भविष्य नभएको स्पष्ट पारे। संविधानले गणतन्त्रलाई स्वीकार गरिसकेको छ, अब लोकतान्त्रिक विधिबाट मात्र नेतृत्व परिवर्तन सम्भव छ, उनले भने।नेपालमा पहिलो पटक पुनः प्रयोग हुने कागज उत्पादन गर्ने उद्योग खुलेसँगै कागज आयातमा निर्भरता कम हुने अपेक्षा गरिएको छ। उद्योगका सञ्चालक चन्द्रप्रसाद ढकालका अनुसार उद्योगले प्रत्यक्ष ३०० र अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी दिनेछ। प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सहकार्यबिना देशको औद्योगीकरण सम्भव नभएको उल्लेख गर्दै उद्यमशीलता र लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।



