प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेका छन । रुपन्देहीको सिद्धार्थनगर रङ्गशालामा आज भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हरायो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले १ सय ५७ बलअघि नै २ विकेट गुमाएर भेटायो । आर्मीका सन्तोष कार्कीले नटआउट ५५ रन बनाए । सुदूरपश्चिमका शेर मल्ल र मिलन बोहराले १-१ विकेट लिए ।



यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम ४५ ओभर ३ बलमा १ सय १७ रन बनाउँदा अलआउट भयो । सुदूरपश्चिमका निश्चल क्षेत्रीले सबैभन्दा धेरै नटआउट ४९ रन बनाए । आर्मीका शाहब आलमले ४ विकेट लिए ।प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जीत हो भने सुदूरपश्चिमको ३ खेलमा दोस्रो हार हो ।
यस्तै पुलिस क्लबले पनि आफ्नो दोस्रो खेलमा कोशी प्रदेशलाई एक सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको पुलिस क्लबले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ८८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कोशी प्रदेशले भने ३६.२ ओभरमै अलआउट हुनुअघि एक सय ३४ रनमात्र बनाउन सक्यो । पुलिसले आफ्नो पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ८७ रनले हराएको थियो । कोशी प्रदेश भने खेलेका तीनै खेलमा पराजित भयो ।



