प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरवारमा प्रधानमन्त्री कार्कीले श्रम, परराष्ट्र्, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीसँग श्रम समस्याका विषयमा छलफल गर्ने क्रममा यस्तो निर्देशन दिनुभएको हो । उहाँले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धार गर्न पनि ताकेता गर्नुभयो । सरकारले नीति नियम बनाउँदा वैदेशिक रोजगार व्यवसायी र दलालको मात्र लाभ नहेरी श्रमका लागि विदेश जाने आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता राख्नुपर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले विदेशमा दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न पनि निर्देशन दिनुभयो । वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित मुलुकको भाषा र कामको अभिमुखीकरण तथा तालिम लिएर मात्र जाने व्यवस्था कडाका साथ लागू गर्न समेत उहाँको जोड छ ।






