प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन आज न्यूर्योक प्रस्थान गर्नुभएको छ । दश दिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीले समीट अफ द फ्यूचर अर्थात भविष्यका लागि सम्मेलनको अध्यक्षता गर्नुहुनेछ भने महासभालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ । त्यहाँ रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका शीर्षनेतासँग ‘साइड लाइन’ वार्ता पनि गर्न सक्ने परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ । के–के छन्, प्रधानमन्त्री ओलीका कार्यक्रम ?

संयुक्ता राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूर्योक प्रस्थान गर्नुभएको छ । उहाँसँग पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साल लगायत टोली छन् । क्यानाडा भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा त्यतैबाट न्यूर्योक पुग्नुहुनेछ ।

सेप्टेम्बर २२–२३
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघले आयोजना गरेको समीट अफ द फ्यूचरको सह–अध्यक्षता गर्नुहुनेछ । ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । दिगो विकासका लागि २०३० को एजेण्डा कार्यान्वयनमा विश्वव्यापी शासन प्रणालीमा र विकासका लागि रफ्तार शीर्षकमा प्रधानमन्त्री ओलीले अध्यक्षता गर्नुहुनेछ । उहाँको सत्रमा छलफलका लागि जी७७ र चीनको समेत सुझावमा युगाण्डा, श्रीलंका, मोरोक्को, युरोपियन युनियन, पाकिस्तान, मलेसिया लगायत ३५ देशले भाग लिने छन् । त्यस्तै अन्तर संसद युनियन, सार्क लगायत ५ संस्थाले पर्यवेक्षण गर्नेछन् ।

सेप्टेम्बर २३
कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

सेप्टेम्बर २४
संयुक्त राष्ट्रसंघको महासभाको औपचारिक उद्घाटनमा पनि प्रधानमन्त्री ओली रहनुहुनेछ ।

सेप्टेम्बर २५
सेप्टेम्बर २५ मा प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति जो बाइडेनले दिने स्वागत समारोहमा भाग लिनुहुनेछ । त्यहाँ दुईनेताबीच संक्षिप्त संवाद हुनेछ ।

सेप्टेम्बर २६
संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने स् वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा प्रधानमन्त्री ओलीले आफ्नो धारणा राख्नुहुनेछ ।

सेप्टेम्बर २७
हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य स् सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तालिका छ ।

जलवायु परिवर्तन र यसले पारेका प्रभावबारे पनि प्रधानमन्त्री ओलीले छलफल गर्नुहुनेछ ।

यी औपचारिक कार्यक्रम बाहेक प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री ओलीको भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ताका लागि पहल भइरहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । सेप्टेम्बर २१ देखि २३ सम्म अमेरिकामा रहने मोदीको तालिका व्यस्त रहनेछ । उहाँले सुरुमै अमेरिका, अष्ट्रेलिया, जापान र भारत रहेको क्वाड राष्ट्रहरुको बैठकमा भाग लिनुहुनेछ । यो बैठकमा इण्डो प्यासिफिक क्षेत्रको रणनीतिबारे छलफल हुने बताइएको छ । यी देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता हुने मोदीको कार्यसूची तय छ । भारतीय विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तीमा भने अरुदेशका राष्ट्र तथा सरकार प्रमुखसँग पनि साइडलाइन वार्ता हुनसक्ने जानकारी दिएको छ । त्यसैले ओली–मोदी भेटको सम्भावना अझै रहेको बताइएको छ । त्यसबाहेक बंगलादेशका सरकार प्रमुख युसुफले पनि मोदीसँगको भेटका लागि प्रतिक्षारत् रहेको बुझिएको छ । मोदी बाहेक अरु मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग पनि साइडलाइन वार्ताको तयारी चलिरहेको छ । यसपटक भने विगतका वर्षझैं सार्कस्तरीय साइडलाइन बैठक नहुने भएको छ । आफ्ना कार्यक्रम सकेर सेप्टेम्बर ३० मा ओली स्वदेश फर्किनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय