प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा आज विद्यार्थीहरुलाई सम्बोधन गर्दै उद्यमशीलता र आत्मनिर्भरता तर्फ प्रोत्साहित गरेका छन्। उनले भने, आजका विद्यार्थीले केवल डिग्री हासिल गरेर जागिरका लागि भौतारिनु हुँदैन, अब तिनीहरूले आफ्नै उद्यम सुरू गर्न, आफ्नै व्यवसाय बनाउन र समुदायको विकासमा योगदान पुर्याउनुपर्ने आवश्यकता छ।



प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक धरोहरको महत्त्वलाई पनि जोड दिएका छन्। उनले भने, कर्णालीको सभ्यता पुरानो र समृद्ध छ। यहाँ हजार वर्ष अघि दैलेख राजधानी थियो। यस क्षेत्रको तेलको अध्ययन भइरहेको छ र यसलाई निकालेर प्रयोग गर्न हामी सक्षम छौं। साथै, कर्णाली प्रदेश जडीबुटी र अन्य जैविक संसाधनले भरिपूर्ण छ। यहाँका सम्भावनाहरू अत्यन्त धेरै छन्।
प्रधानमन्त्री ओलीले कर्णालीका विद्यार्थीहरूलाई आफ्ना क्षमता र प्रतिभाअनुसार विविध क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्ने अवसरहरूको सदुपयोग गर्न आग्रह गरे। हामीले कर्णालीको सम्भावनाहरूको अधिकतम उपयोग गरेर आर्थिक विकासको नयाँ युगको शुभारम्भ गर्न सक्छौं, उनले भने। मध्यपश्चिम विश्वविद्यालयका तेस्रो दीक्षान्त समारोहमा ३,८४१ विद्यार्थीलाई डिग्री प्रदान गरिनेछ। यस अवसरमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयको योगदान र कर्णालीका सम्भावनामा विश्वास व्यक्त गरे। यसका साथै, उनले विद्यार्थीहरुलाई आगामी दिनमा चुनौतिहरूसँग जुझ्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्रिय हुन प्रेरित गरे।



