प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्ताको निम्तो दिँदै, शिक्षा क्षेत्रमा देखिएको असन्तुष्टिको समाधान संवादमार्फत् खोज्न आग्रह गरेका छन्। आज काठमाडौँमा आयोजित एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शिक्षकहरूको जायज मागप्रति सरकार सकारात्मक रहेको स्पष्ट पार्दै आन्दोलन अन्त्य गर्न आग्रह गरे। सरकार शिक्षकहरूको जायज मागप्रति संवेदनशील छ। हामी सम्भव भएका सबै माग पूरा गर्न तयार छौं, प्रधानमन्त्री ओलीले भन्नुभयो, तर यो आन्दोलनले विद्यार्थी र अभिभावकलाई मात्रै घाटा पुर्याएको छ। विद्यालय बन्द गर्नु कसैको हितमा छैन। शिक्षा ऐन संशोधनको सन्दर्भमा शिक्षकमाझ देखिएको असन्तुष्टिप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अहिलेको अवस्था आन्दोलनको होइन, छलफल र सहमतिको भएको बताउनुभयो। शिक्षा ऐनलाई लिएर यति धेरै शिक्षकहरू सडकमा उत्रनुपर्ने अवस्था छैन। हामी छलफल गर्न तयार छौं, उहाँले भन्नुभयो।
प्रधानमन्त्रीले आन्दोलन जारी राख्ने तर वार्ता नगर्ने भन्ने शिक्षक संगठनहरूको शैलीप्रति पनि असन्तुष्टि व्यक्त गर्दै यस्तो रवैयाले समाधान होइन, समस्या थपिने चेतावनी दिए। संविधान र लोकतन्त्रले आन्दोलनको अधिकार दिन्छ, तर जब समाधान वार्ताबाट आउन सकिन्छ भने जिद्दी गर्नु उपयुक्त हुँदैन, प्रधानमन्त्रीको तर्क थियो।



एसईई फेल प्रतिशतबारे प्रधानमन्त्रीको स्पष्टता
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले हालै सार्वजनिक एसईई नतिजालाई लिएर उठेका प्रतिक्रियामा चित्त नदुखाउन आग्रह गर्दै यथार्थ स्विकार गर्नुपर्नेमा जोड दिनुभयो। ५२ प्रतिशत विद्यार्थी फेल भए भन्ने मेरो भनाइलाई लिएर कतिपयलाई चित्त दुखेको छ। तर सत्य तथ्यलाई स्वीकार गरेर सुधारको बाटो खोज्नुपर्छ,उहाँले स्पष्ट गर्नुभयो।
प्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको दाबी गर्दै यस्तो संवेदनशील समयमा आन्दोलन गर्नु राजनीतिक दृष्टिले पनि सही नभएको धारणा व्यक्त गर्नुभयो। जब मुलुक अगाडि बढ्न खोजिरहेको छ, जब प्रतिगामी सोचहरू फेरि उठ्न थालेका छन्, यस्तो बेला हामी शिक्षालाई राजनीति बनाउनु हुँदैन, उहाँले भने। प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिले सरकार र शिक्षकबीचको संवादलाई पुनः सक्रिय बनाउने संकेत दिएको छ। तर आन्दोलनरत शिक्षक संगठनहरूको प्रतिक्रिया कस्तो हुन्छ भन्ने कुराले अबको रणनीति तय गर्नेछ। आन्दोलनको विकल्प वार्ता हो भन्ने सरकारी सन्देशले अब सहमतिको ढोका खुल्ला रहन्छ कि बन्द, त्यो भने निकट भविष्यमा देखिनेछ।



