प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरु र विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल गरेका छन् । जेठ १७ गतेदेखि भारतको औंपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालले आइतबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न राजनीतिक दलका नेताहरुसँग सुझाव लिएका हुन् । छलफलपछि प्रधानमन्त्री दाहालले सबैले राष्ट्रको हितमा केन्द्रित भएर भारतसँग छलफल गर्न सुझाव दिएको बताए ।



छलफलका क्रममा प्रवुद्ध व्यक्ति समूह (इपीजी) प्रतिवेदन ग्रहण गरेर अघि बढनुपर्ने विषयमा जोड दिन आफूले सुझाव दिएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जानकारी दिए । उनले त्यसमा दुई मुलुकबीचको समस्या समाधान हुने कुरा उल्लेख गरिएकाले त्यसलाई ग्रहण गर्ने विषयमा भारत सहमत हुने गरी छलफल गर्नुपर्ने बताए ।
छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्रीहरुले राष्ट्रिय हितमा दृढतापूर्वक उभिएर कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग नेपालले उपयोग गर्न पाउने गरी छलफल गर्न सुझाव दिए । उनीहरुले नेपालको आत्मासम्मानमा चोट नपु¥याउने गरी भारतसँग छलफल गर्न, दुई मुलुकबीचको सिमा विवाद समाधान हुने गरी तथ्यहरुसहित प्रस्तुत हुन र विगतमा गरिएका समझदारी कार्यान्वयन र व्यापार घाटा कम गर्ने विषयलाई जोड दिन सुझाव दिइएको बताए ।



