काठमाडौं । जेनजी प्रदर्शनका क्रममा औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा भएको क्षतिप्रति निजी क्षेत्रले गहिरो दुःख व्यक्त गर्दै हार नमान्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले आफूहरू थप सबल भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले तोडफोड र आगजनीका कारण निजी क्षेत्रले ठूलो धक्का खेपेको बताउनुभयो ।

ढकालले वि.सं. २०४६ यता कुनै पनि सरकारले निजी क्षेत्रको वास्तविक आवश्यकता र पीडा बुझ्न नसकेको टिप्पणी समेत गर्नुभयो । उहाँले नीजि क्षेत्रलाई राजनीतिक दल र सर्वसाधारणले हेर्ने दृष्टिकोण अझै पनि नसुध्रिदा आन्दोलनमा व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरी तोडफोड र आगजनी हुने गरेको बताउनु भयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले राजनीतिक परिवर्तनका लागि भएको प्रत्येक आन्दोलनको चरणमा निजी क्षेत्र सबैभन्दा बढी मारमा पर्ने गरेको उल्लेख गर्नुभयो ।

यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश सिंहले देशभर करिब साढे नौ लाख लघु र साना उद्योग रहेको जानकारी दिंदै तीमध्ये पाँच लाखजति उद्योग अझै नवीकरण हुन नसकेको भन्दै त्यस्ता उद्योगलाई छुट सुविधा दिन आग्रह गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले उद्योग–व्यवसायमा आक्रमण हुनु दुःखद् भएको बताउँदै सम्पत्तिको सुरक्षा र लगानीमा विश्वास जगाउन सरकारले विशेष एकीकृत सुरक्षा योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले हालको आन्दोलनलाई निराशा र भ्रष्टाचारविरुद्धको प्रतिक्रियाका रुपमा चित्रित गर्नुहुँदै अहिलेको सरकारले निर्वाचनसँगै भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि पहल गर्नुपर्ने बताउनुभयो । अहिलेको बजेटमा परेका केही योजना खारेज गरेर स्रोत पहिचान गर्ने अर्थमन्त्रीको योजना सकारात्मक रहेको भन्दै उपभोक्ता समिति खारेज गरिनुपर्ने सुझावसमेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय