प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै हुनुहुन्छ।प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तवलाई सोमबार बिहान ११ बजे भेट्ने तय भएको छ। त्यस्तै, चिनियाँ राजदूत चाङ माओमिङसँग सोमबारै दिउँसो ३ बजे भेटवार्ता गर्ने कार्यक्रम छ। दुई छिमेकी मुलुकका राजदूतलाई एकै दिन भेट्ने निर्णयमार्फत नेपालले असंलग्नता र सन्तुलित परराष्ट्र नीतिको सन्देश दिन खोजेको बताइएको छ। प्रधानमन्त्री शाहले मंगलबार अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमसँग द्विपक्षीय छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा, विकास साझेदारी तथा आपसी हितका विविध आयामबारे छलफल हुने अपेक्षा छ। यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग चैत २५ मा सामूहिक भेटवार्ता गर्नुभएको थियो। पछिल्लो पटक प्रधानमन्त्रीले असार २३ गते एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गर्नु भएको थियो ।






