काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा भएको भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित, विकास साझेदारी तथा आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको ऐतिहासिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन भारत प्रतिबद्ध रहेको बताउनुभएको थियो।
नेपाल र भारतबीच राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ। दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन आपसी हितका विषयमा निरन्तर संवाद र सहकार्य आवश्यक रहेकोमा भेटका क्रममा जोड दिइएको थियो। प्रधानमन्त्री शाहले पनि भारतसँग नेपालको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो। नेपालका विकास प्राथमिकता र आपसी हितका विषयमा भारतसँग सहकार्यलाई निरन्तरता दिने धारणा प्रधानमन्त्री शाहले राख्नुभएको बताइएको छ।



प्रधानमन्त्री र भारतीय राजदूतबीचको भेटवार्तालाई प्रधानमन्त्री शाहले पद सम्हालेपछि नेपालमा रहेका प्रमुख कूटनीतिक नियोगका प्रतिनिधिसँग बढाउनुभएको संवादको निरन्तरताका रूपमा पनि हेरिएको छ। प्रधानमन्त्री शाहले आजै नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री र चिनियाँ राजदूतबीच दिउँसो ३ बजे भेटवार्ता हुने तय भएको छ। उक्त भेटमा नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहकार्य तथा पारस्परिक हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यस्तै, प्रधानमन्त्री शाहले भोलि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। पछिल्ला भेटवार्ताले प्रधानमन्त्री शाहले नेपालका प्रमुख विकास साझेदार तथा छिमेकी मुलुकका कूटनीतिक प्रतिनिधिसँग सम्बन्ध विस्तार र सहकार्यलाई प्राथमिकता दिइरहेको देखाएको छ। यसअघि गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि शाहले चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। उक्त भेटमा नेपालका प्राथमिकता, विकास साझेदारी तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो।
त्यसपछि पनि प्रधानमन्त्री शाहले विभिन्न अन्तर्राष्ट्रिय साझेदार तथा कूटनीतिक प्रतिनिधिसँग भेटवार्तालाई निरन्तरता दिँदै आउनुभएको छ। पछिल्लो पटक असार २३ गते उहाँले एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गर्नुभएको थियो।
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको पछिल्लो भेटलाई नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा विकास साझेदारीका क्षेत्रमा सहकार्य विस्तार गर्ने सन्देशका रूपमा हेरिएको छ। छिमेकी तथा विकास साझेदार मुलुकका प्रतिनिधिसँग प्रधानमन्त्रीको निरन्तर संवादले नेपालको परराष्ट्र सम्बन्ध र विकास सहकार्यलाई अघि बढाउन सरकारको सक्रियता देखाउने कूटनीतिक गतिविधिका रूपमा समेत यसलाई हेरिएको छ।



