काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलबीच साझा समझदारी र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । सुनसरीमा पछिल्लो समय विकसित घटनाक्रम तथा सामाजिक सद्भावका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा बुधबार आयोजित सर्वदलीय छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले वर्तमान परिस्थितिलाई संवेदनशील भन्दै प्रमुख राजनीतिक शक्तिहरूलाई एउटै मञ्चमा ल्याउन रास्वपा तथा त्यसका सभापति रवि लामिछानेले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । नेपाली समाजमा कायम रहेको धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कुनै संयोग वा उपहार नभई नागरिकहरूको लामो प्रयासबाट निर्माण भएको साझा सम्पत्ति भएकाले यसको संरक्षण सबैको दायित्व भएको उल्लेख गर्नुभयो ।

सभापति थापाले नेपाली कांग्रेसले यस विषयमा आफ्नो धारणा स्पष्ट गरिसकेको उल्लेख गर्दै पार्टीका स्थानीय तहका नेता तथा जनप्रतिनिधिलाई समुदायस्तरमा संवाद, सहकार्य र सद्भाव अभिवृद्धिका कार्यक्रम संचालन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँले सामाजिक सद्भाव प्रभावित हुन सक्ने जिल्लाहरूमा सर्वदलीय समन्वयलाई थप सक्रिय बनाउन आवश्यक रहेको भन्दै कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन प्रशासन, संचारमाध्यम र राजनीतिक दलहरूले समयमै समन्वय गर्दै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

थापाले संकटको समयमा सरकार अपेक्षाअनुसार प्रभावकारी रूपमा प्रस्तुत हुन नसकेको टिप्पणी गर्दै नेतृत्वले परिस्थितिको गम्भीरता बुझेर जिम्मेवार ढंगले काम गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा सीमित नभई नागरिकको अपेक्षा अनुरूप प्रभावकारी नेतृत्व दिनुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय