प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले आज भेटवार्ता गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको उक्त भेटमा समसामयिक राजनीतिक विषय, युवाहरूको भविष्य–दृष्टि, तथा देशमा सुशासन र पारदर्शितासम्बन्धी सवालमा विस्तृत छलफल भएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए। भेटका क्रममा गुरुङले युवा पुस्ताका माग र आवाजलाई राज्यका नीतिहरूमा समावेश गर्नुपर्ने आवश्यकताबारे प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाए। उनले युवा नेतृत्व, शिक्षा सुधार, रोजगारीका अवसर तथा डिजिटल अधिकारसम्बन्धी मागहरूलाई प्राथमिकतामा राख्न आग्रह गरेका थिए।
प्रधानमन्त्री कार्कीले युवाहरूको भूमिकालाई “राष्ट्र निर्माणको केन्द्रबिन्दु” भन्दै सरकार युवा–मैत्री नीति निर्माणमा प्रतिबद्ध रहेको बताइन्। उनले जेनजी आन्दोलनले उठाएका विषयहरूलाई सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने आश्वासन दिइन्। भेटवार्ता करिब एक घण्टा चलेको थियो। दुवै पक्षले संवाद निरन्तर राख्ने सहमति व्यक्त गरेका छन्।






