प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सिबिओ) रश्मी पन्तलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ। कर्जा प्रवाह प्रक्रियामा अनियमितता गरेको आरोपमा पक्राउ परेकी पन्तमाथि विस्तृत अनुसन्धान सुरु गरिएको सीआईबीले जनाएको छ।

सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार पन्तलाई पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई म्याद थपको प्रक्रिया अघि बढाइएको छ। अदालतबाट अनुमति लिएपछि उनीमाथि थप अनुसन्धान गरिनेछ।

अनुसन्धान रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रभु बैंकबाट प्रवाह गरिएको ४८ करोड रुपैयाँ कर्जासँग सम्बन्धित छ। उक्त कर्जा प्रवाहका क्रममा बैंकिङ प्रक्रिया र मापदण्ड पालना भए–नभएको विषयमा अनुसन्धान केन्द्रित गरिएको छ।

यसअघि नै सो कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेललाई पनि यही प्रकरणमा सीआईबीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा बैंकका जिम्मेवार अधिकारीहरूको भूमिकासमेत परीक्षण भइरहेको जनाइएको छ।

सीआईबी स्रोतका अनुसार नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणका क्रममा कर्जा प्रवाहमा अनियमितता भएको संकेत भेटिएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

प्रहरीले घटनासँग सम्बन्धित कागजात, कर्जा स्वीकृति प्रक्रिया र सम्बन्धित अधिकारीहरूको भूमिकाबारे अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानपछि प्राप्त प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय