अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध तीनवटा विवादास्पद भ्रष्टाचार प्रकरणमा छानबिनको माग गर्दै आयोगमै औपचारिक उजुरी दर्ता गरिएको छ।



सिन्धुली कमलामाईका युवराज पौडेलले आज अख्तियारको केन्द्रीय कार्यालय पुगेर राईमाथि तत्काल छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउन माग गर्नुभएको हो । उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता गरिएको छ। पौडेलले उजुरीमा वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र नक्कली भुटानी शरणार्थी काण्डमा राईको भूमिकालाई लक्षित गर्दै तीनै प्रकरणमा निष्पक्ष अनुसन्धानको माग गर्नुभएको छ । उहाँले राईमाथि तीन आरोप लगाउनुभएको छ ।
पहिलो आरोपमा वाइडबडी विमान खरिद प्रकरण उल्लेख छ। उक्त प्रकरणमा विशेष अदालतले गत हप्ता पूर्णपाठ सार्वजनिक गर्दै दोषी पहिचानमा चयनात्मक अभियोजन गरिएको भन्दै मूल निर्णयकर्तामाथि अनुसन्धान नै नगरेको भनेर न्यायिक टिप्पणी गरेको थियो। पौडेलले त्यही टिप्पणीलाई आधार बनाउँदै राईमाथि पुरक अभियोग पत्रमार्फत मुद्दा दायर गर्न आग्रह गर्नुभएको छ । दोस्रो आरोप नेपाल आयल निगमको जग्गा खरिद काण्डसँग सम्बन्धित छ। उजुरी अनुसार, राई आपूर्ति मन्त्रालयको सचिव रहेका बेला नेपाल आयल निगमको सञ्चालक समितिको अध्यक्ष हुनुहुन्थ्यो । सो समयमा गरिएको अनियमिततामा तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि मात्र मुद्दा दायर गरेर राईलाई उन्मुक्ति दिइएको भन्दै पौडेलले तामेलीमा राखिएको फाइल पुनः खोलेर अनुसन्धान गर्न माग गरिएको छ । तेस्रो आरोप भने नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको छ। उजुरीमा उल्लेख भएअनुसार, उक्त प्रकरणमा संलग्न केही आरोपितहरूले तत्कालीन गृहसचिव रहेका राईको गाडीमै नगद राखिएको बयान दिएका थिए। तर, संवेदनशील दाबी हुँदासमेत प्रहरीले राईमाथि कुनै अनुसन्धान नगरेको भन्दै पौडेलले त्यसबारे पनि छानबिन गर्न माग गर्नुभएको छ ।



