काठमाडौं । रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ प्रालिका सञ्चालक अजितकुमार कर्णविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आइतबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार, विद्यालय भवन निर्माणसम्बन्धी ठेक्काको बोलपत्र आह्वान तथा बोलपत्र स्वीकृत गर्ने आशयको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै पनि ती सूचना लुकाइ–छिपाइ गरिएको पाइएको हो ।
अनुसन्धानबाट उनीहरूले आपसी मिलेमतोका साथ माधव नारायण नगरपालिकाको ठेक्कासम्बन्धी सूचना सिटी पोस्ट राष्ट्रिय दैनिकजस्तो देखिने सीमित प्रतिमा मात्र छापेर झुट्टा कागजात पेस गरी २ लाख ५७ हजार नौ सय ७० रुपियाँ भुक्तानी लिएको प्रमाणित भएको आयोगले जनाएको छ ।
प्रेस काउन्सिल नेपालको अभिलेखमा सो मितिका सूचना नदेखिएको पुष्टि भएपछि आयोगले सो कार्यलाई सार्वजनिक रकम हिनामिना गर्ने नियतको भ्रष्टाचार कार्यका रूपमा ठहर गरेको हो ।






