काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र रहेको प्रहरी वृत्त थानकोटको नवनिर्मित कार्यालय तथा ब्यारेक भवनको उद्घाटन गरिएको छ । प्रहरी नायव उपरीक्षकको नेतृत्वमा १३७ जनाको प्रहरी दरबन्दी कायम रहेको वृत्त मातहत प्रहरी प्रभाग नागढुंगा, प्रभाग बलम्बु, प्रभाग नैकाप, प्रभाग मातातीर्थ, प्रभाग मच्छेगाउँ गरी ५ वटा प्रभागबाट चन्द्रागिरि नगरपालिकाको सम्पूर्ण क्षेत्रको शान्ति सुरक्षा लगायतका कामकारवाही हुँदै आएको छ ।

नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले अहिले अपराध टेक्नोबेस भएकोले अनुसन्धान पनि टेक्नोबेस नै हुन आवश्यक रहेको बताउनु भयो । उहाँले देशमा हुने गरेको अपराध न्यूनिकरणको लागि अपराध नियन्त्रण र अपराध अनुसन्धानमा टेक्नोलोजीको प्रयोग हुनुपर्ने भन्दै योजना राखिसकेको जानकारी दिनुभयो । उहाँले नेपाल पुलिस अनुसन्धानमा साउथ एशियामै उत्कृष्ट रहेको भन्दै विश्व अहिले टेक्नोलोजीमा अघि बढेकोले नेपाल पनि टेक्नोलोजीमै जानु पर्ने बताउनु भयो । उहाँले टेक्नोलोजीमा जान केन्द्रीय सरकारले मात्र नसक्ने हुँदा तीनै तहको सरकारको आपसी समन्वयमा अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

तामाङले अबको पोलिसी प्रविधिमा आधारित भएकोले त्यसलाई आत्मसाथ गर्न नसके अनुसन्धानमा मात्र नभई देशको सुरक्षामा नै चुनौति थपिने उल्लेख गर्नुभयो । उहाँले सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै सेफर काठमाडौं भ्यालीको तीन वर्षे योजना उपत्यका प्रहरी कार्यालयले लागु गरिसकेकोले थानकोटको प्रहरी वृत्तको नयाँ भवनले नयाँ सोच दिनेमा आफु आशावादी रहेको बताउनु भयो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रहरी वृत्त थानकोटको नव–निर्मित कार्यालय तथा ब्यारेक भवन उद्घाटन आफैमा महत्वपूर्ण भएको बताउनु भयो । उहाँले २०३५ साल अघि गोदामको सानो प्रहरी चौकीबाट पैदल यात्रा गर्दै सुरक्षा दिइएकोमा ३५ सालपछि अहिलेको नवनिर्मित भवनको अगाडी घर भाडामा लिएर सुरु गरिएको चौकी कालान्तरमा सुविधा सम्पन्न भवनबाट सेवा दिन र लिन पाउँदा अत्यन्तै खुशी लागेको बताउनु भयो । विगतका वर्षहरुमा प्रहरी चौकीमा भएका घटनाक्रमहरु र आरोह, अवरोध, कठिनाईका बाबजुद जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयको अथक प्रयासबाट अहिलेको भवन बनाउन सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले काठमाडौं महानगरपालिका पछिको सबै भन्दा ठूलो नगरपालिका चन्द्रागिरि भएको र काठमाडौं छिर्ने चार पाँच वटा नाका हुँदा सुरक्षाको दृष्टिकोणले अति नै चुनौतिपूर्ण रहेकोले प्रशासनसँग नगरपालिका सधै नै सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

उपप्रमुख बसन्ती श्रेष्ठले काठमाडौं भित्रने नाकाको रुपमा चन्द्रागिरि नगरपालिका भएकोले नगर क्षेत्रभित्र शान्ति सुरक्षामा ठूलो चुनौति हुँदै आएको बताउनु भयो । उहाँले महिला, बालबालिका बेचविखन देखि लागुऔषधको ट्रान्जिट प्वाइन्ट पनि नाका भएकै कारण चन्द्रागिरिको बाटो हुँदै जाने भएकोले अपराधका घटना पनि बढी हुने गरेको उल्लेख गर्नुभयो । नगर क्षेत्रभित्र हुने घटना न्यूनिकरणको लागि प्रहरीले मात्र सम्भव नहुने हुँदा सबै व्यक्तिहरु आ–आफ्नो स्थानबाट जागरुक हुन आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, संचारकर्मी, नागरिक अगुवा, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय