काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिनुभएको छ । शुक्रबार जनकपुरधाममा मधेस प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन तथा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी हाकिमको भूमिका होइन, जनताको सेवकको भूमिकामा काम गर्नुपर्ने बताउनु भयो । कसैलाई जोरजबर्जस्तीबाट फसाउने काम नहोस् र न्यायोचित हिसाबले प्रहरीबाट काम हुनुपर्ने उल्लेख गर्दै उहाँले राणा शासन तथा राजाको पञ्चायती व्यवस्थामा जस्तो कसैलाई फसाउने तथा यातना दिने काम नगर्न पनि प्रहरीलाई निर्देशन दिनुभयो ।

समाजमा अराजक फैलाउने तत्वहरूको मुलुकमा लोकतन्त्र ल्याउनका लागि कुनै योगदान नरहेको बताउँदै प्रधानमन्त्री ओलीले झुटो बोल्ने तत्वहरूलाई समाज तथा राष्ट्रले सजाय दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट मुलुकमा लोकतन्त्र आएकाले लोकतन्त्रको सुरक्षा तथा दिगो बनाउन सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू एक भएर लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संयुक्त प्रयासबाट निर्माण भएको वर्तमान सरकारले देशमा स्थिरता तथा शान्ति सुरक्षा एवं सुशासन दिने उल्लेख गर्दै भष्टाचार नियन्त्रण गर्ने र जनतालाई छिटोछरितो रूपमा सेवा दिनेतर्फ प्रहरीले जोड हुनुपर्नेबताउनुभयो । उहाँले नेपाल प्रहरीलाई समयसापेक्ष भौतिक सुविधाले सम्पन्न गराउनेतर्फ मधेस प्रदेश सरकारले भवन निर्माण गरेकामा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेशको शान्ति, सुरक्षालगायतका कार्य गर्न समस्या भएको गुनासो गर्नुभयो । नेपाल प्रहरीका प्रमुख एवं प्रहरी महानिरीक्षक दीपक थापाले मुलुकमा शान्ति, सुरक्षा कायम गर्न तथा जनताको जिउधनको सुरक्षा गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ कार्य गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय