अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगसहित दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ।
अख्तियारले प्राधिकरणका दुईजना पूर्वअध्यक्ष, एकजना पूर्ववरिष्ठ निर्देशक, तीनजना बहालवाला निर्देशकहरूसहित २० जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको हो।अख्तियारले प्राधिकरणका पूर्वअध्यक्षद्वय पूरुषोतम खनाल र दिगम्बर झाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। त्यसैगरी प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनालविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।



एमडीएमएस घोटाला प्रकरणमा प्राधिकरणका वर्तमान निर्देशकत्रय दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्युतानन्द मिश्रविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएकाछन् । कार्कीका अनुसार प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशकद्वय कविन्द्र मल्ल र सन्दीप अधिकारी, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थविरूद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता भएको छ।



