सन् २०२३ मा हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीसहित चार बन्धकको शव इजरायललाई हस्तान्तरण गरिएको छ । डीएनए परीक्षणका क्रममा शव विपिनकै भएको पुष्टि मात्रै भएको छैन उनको मृत्यु सन् २०२३ को अन्त्यतिर भएको पाइएको छ । उनीहरूको मृत्यु गाजामा इजरायली हवाई आक्रमणका क्रममा भएको दाबी गरिएको छ भने परराष्ट्र मन्त्रालयले शव ल्याउने प्रक्रिया सुरु गरिएको जनाएको छ ।

२०२५ अक्टोबर १४ मा, हमासले चार बन्धकहरूको शव इजरायललाई हस्तान्तरण गरेको समाचारले विश्वलाई स्तब्ध बनायो। तीमध्ये एक थिए कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशी, जसलाई सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेको थियो। इजरायलको किबुट्ज अलुमिममा कृषि अध्ययनरत विपिन आक्रमणमा परेपछि बेपत्ता भएका थिए । दुई वर्षपछि उनको मृत्यु पुष्टि हुनु नेपालका लागि गहिरो पीडाको विषय बनेको छ। अब सबैको ध्यान उनको शव नेपाल ल्याउने प्रक्रियामा केन्द्रित भएको छ । जुन भावनात्मक मात्र होइन, कानुनी र कूटनीतिक रूपमा पनि जटिल छ।

९सबैभन्दा पहिले, शवको पहिचान र फोरेन्सिक पुष्टि गर्नुपर्छ। इजरायली अधिकारीहरूले हमासबाट प्राप्त शवहरूको डीएनए परीक्षण र पोस्टमार्टम गर्दा विपिनकै भएको पुष्टि भएको छ । अब मृत्यु प्रमाणपत्र जारी गरिन्छ, जसलाई नेपाली दूतावासले प्रमाणीकरण गर्छ। तेल अविवस्थित नेपाली दूतावासले विपिनको परिवारसँग सम्पर्क गरी नागरिकता, राहदानी प्रतिलिपि र सम्बन्ध प्रमाणपत्र सङ्कलन गर्नेछ। यी कागजातहरू बिना शव फिर्ता प्रक्रियामा कठिन हुनेछ ।

त्यसपछि शवको संरक्षण र ढुवानीको तयारी सुरु हुन्छ। इजरायलमा शव संरक्षण र एयरटाइट कफिनमा प्याकेजिङको व्यवस्था विशेष फ्युनेरल सेवा कम्पनीहरूले गर्नेछन्। नेपाल पठाउनुअघि, परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले ‘नो अब्जेक्सन लेटर’ जारी गर्नुपर्छ। यो दस्तावेजले नेपाल प्रवेशका लागि कानुनी अनुमति दिन्छ। परिवार वा दूतावासमार्फत आवेदन दिइएपछि यसले शव ढुवानीलाई औपचारिक मान्यता दिन्छ।

शवलाई हवाईमार्गबाट ल्याइन्छ, सामान्यतया टर्किस एयरलाइन्स, कतार एयरवेज वा एल अल एयरलाइन्समार्फत। ढुवानी खर्च करिब २ हजारदेखि ५ हजार अमेरिकी डलरसम्म पर्न सक्छ। नेपालमा शव आइपुग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र कस्टम विभागले प्रमाणपत्र जाँच गर्छन्। विशेष गरी द्वन्द्व प्रभावित क्षेत्रका बन्धकका मामिलामा अन्तर्राष्ट्रिय रेडक्रसले शव हस्तान्तरण प्रक्रियामा सहयोग गर्दै आएको छ । यो सम्पूर्ण प्रक्रिया सामान्य अवस्थामा ५ देखि १० दिनभित्र पूरा हुनेछ । विपिनको शव स्वदेश ल्याउने प्रयास केवल व्यक्तिगत शोकको कुरा होइन । यो नेपालका वैदेशिक विद्यार्थी र कामदारहरूको सुरक्षाप्रति सरकारको प्रतिबद्धताको परीक्षण पनि हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय