काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको जनाएको छ । अटेर गरी बालेमा प्रतिपटक १० हजार रुपैयाँ जरिवाना हुनेछ ।
चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता बस्तु बाल्न रोक लगाइएको हो । जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढ्ने गरेको छ । प्रदूषण बढ्नमा खुला रुपमा बालिने बस्तुको महत्वपूर्ण हिस्सा हुने वातावरणविद्हरुको भनाइ छ । वायु प्रदूषणले बालबालिका, जेष्ठ नागरिक, दम खोकीजस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्ने चिकित्सकहरुको भनाइ छ ।

महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरेमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ । यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपैयाँ जरिवाना हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय