काठमाडौं । कास्कीको पर्यटकीय केन्द्र पोखरास्थित फेवातालमा अचानक आएको हावाहुरी र वर्षाका कारण जोखिममा परेका १९ विदेशी नागरिकसहित ३३ जना पर्यटकलाई नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ ।

जेठ २० गते अपराह्न मौसम एकाएक प्रतिकूल बनेपछि फेवातालमा डुंगा तथा जलविहार गरिरहेका पर्यटकहरू तालको बीच भागमा अलपत्र परेका थिए । तीव्र हावाहुरी, वर्षा र बढ्दो छालले पर्यटकहरूको सुरक्षा चुनौतीपूर्ण बनेपछि नेपाली सेनाको उद्धार टोली तत्काल परिचालन गरिएको थियो ।

उद्धार टोलीले विशेष सुरक्षा उपकरणसहित रबर बोट प्रयोग गर्दै प्रतिकूल मौसमका बीच तालमा पुगेर फसेका पर्यटकहरूलाई सकुशल उद्धार गरेको थियो । उद्धार गरिएकामध्ये १९ जना विदेशी पर्यटक रहेका छन् भने अन्य स्वदेशी पर्यटक रहेका छन् । सबैलाई सुरक्षित रूपमा किनारमा ल्याइएको र कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

प्रतिकूल मौसमका बीच पनि उद्धार अभियान प्रभावकारी रूपमा सम्पन्न भएपछि पर्यटक तथा स्थानीयवासीले नेपाली सेनाको प्रशंसा गरेका छन् ।

फेवाताल पोखराको प्रमुख पर्यटकीय आकर्षणमध्ये एक भएकाले दैनिक रूपमा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू जलविहारका लागि पुग्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय