काठमाडौं । पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । वि.सं. २०७२ को विनाशकारी भूकम्पले उक्त मन्दिर तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनर्निर्माण सुरु गरिएको थियो । मन्दिरको पुनर्निर्माण ८० प्रतिशत सकिएको तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ । फेवातालको मध्यभागको ढिस्कोमा मन्दिर रहेकै कारण मन्दिर ढल्कँदा झनै जोखिम सृजना भएकाले पुनर्निर्माण गर्नुपरेको समितिको भनाइ छ । जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनर्निर्माणका लागि बाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागले पुनर्निर्माणका लागि काम अगाडि बढाएको हो । भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि केही वर्ष पहिले नै ती कोठा हटाइसकिएको थियो । वि.सं. २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निर्माण गरेका थिए । पोखराको लेकसाइड आउने पर्यटकको मुख्य गन्तव्यका रूपमा फेवातालको मध्यभागमा अवस्थित तालवाराही मन्दिर रहने गर्छ ।
पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । मन्दिर पुनर्निर्माण सम्पन्न गर्न एक करोड ८४ लाख लाग्ने जानकारी समितिले जनाएको छ । प्यागोडा शैलीमै भक्तपुर र ललितपुरबाट कालिगढ मगाएर वर्तमान स्वरुपमै मन्दिर पुनर्निर्माण गर्न लागिएको हो । मन्दिर पुनर्निर्माण गर्न पुरातत्व विभागले छ लाख दिएको छ भने अन्य रकम तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिको कोषबाट र भक्तजनबाट सहयोग जुटाएर पुनर्निर्माण सम्पन्न गरिनेछ ।



पुनर्निर्माण एक वर्षभित्र सक्ने भनिएको भए तापनि विविध कारणले पुनर्निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको छ । तालवाराही मन्दिर गुठी व्यवस्थापन समितिले आगामी वैशाखभित्र सर्वसाधारण भक्तजनले दर्शन र पूजाआजा गर्न सक्नेगरी पुनर्निर्माण सक्नेगरी तयारी गरिएको छ । मुख्य काम मन्दिरको छानो छाउने र वरपरको रेलिङ निर्माण बाँकी छ ।



