काठमाडौं । नेपाली बजारमा केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैधरूपमा भित्रिने केरालाई व्यवसायीले नै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार मच्चिएको हो । आन्तरिक उत्पादन निकै कमजोर रहेको र अवैध रूपमा भित्रिएका केरा जनस्वास्थ्यका लागि समेत प्रतिकुल हुने भन्दै व्यापारीले बिक्री रोकेपछि बजारमा अभाव सिर्जना भएको हो ।



नेपाल फलफूल थोक व्यवसायी संघले अनुसार बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्तिमा आएको न्यूनताका कारण भएको बताएको छ । संघका अनुसार केही महिनाअघिसम्म भारतबाट अवैध रूपमा ठुलो परिमाणमा केरा भित्रिँदा बजारमा खासै अभाव देखिएको थिएन । तर संघकै पहलमा त्यस्ता अवैध केराको बिक्री वितरणमा रोक लगाएपछि आपूर्तिमा एकाएक कमी आएको हो । नेपालको आफ्नै उत्पादन पर्याप्त नभएको र अवैध आयात रोकिएपछि बजार खाली हुँदा मूल्य बढेको संघको तर्क छ । हाल गुणस्तरीय केराको अभाव हुँदा कतिपय स्थानमा उपभोक्ताले प्रतिदर्जन ३०० देखि ३५० रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता छ ।
सिमानाको फितलो सुरक्षा र कमजोर अनुगमनका कारण भारतीय केरा नेपाली उत्पादनको नाममा बजारमा प्रवेश गरिरहेको संघको ठहर छ । पुस महिनापछि स्वदेशी उत्पादन न्यून हुने समयमा गैरव्यवसायीहरूले अवैध रूपमा केरा भित्र्याएर बजार कब्जा गरेको भए पनि अहिले संघ र महासंघको अगुवाइमा त्यस्ता कार्य पूर्णरूपमा बन्द गरिएको संघले जनाएको छ । यता किसानहरूले भने आफूहरूले प्रतिदर्जन ५० देखि ८० रुपैयाँमा केरा बजार पठाएको दाबी गर्दै बिचौलियाका कारण मूल्य बढेको आरोप लगाउँदै आएका छन् । तर संघले भने यो कुरा अस्वीकार गरेको छ । अहिले बजारमा उपलब्ध धेरैजसो नेपाली केरा गुणस्तरहीन रहेको र उपभोक्ताले नकिन्दा खुद्रा व्यापारीसमेत मारमा परेको संघको ठहर छ ।
सरकारले केरामा ८० प्रतिशत आत्मनिर्भर भएको दाबी गरे पनि वास्तविक उत्पादन ३० प्रतिशतको हाराहारीमा मात्र रहेको संघको दाबी छ । राज्यले आयात नियन्त्रण गर्दै स्वदेशी उत्पादन बढाउने ठोस नीति लिनुपर्ने र किसान एवं व्यवसायीबीच समन्वय गराउनुपर्नेमा संघको जोड छ । संघले व्यवसायीका समस्या सुन्न सरकार उदासीन रहेको र कृषि मन्त्रीसँग भेटका लागि समय माग्दासमेत नपाएको भन्दै गुनासो गरेको छ ।



