काठमाडौं । बझाङ केन्द्रविन्दु भएको गएको भूकम्पमा परी ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बझाङको सत्यवादी मा.वि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना घाइते भएका हुन् ।
भूकम्पबाट सदरमुकामका पक्की घरहरू चर्किएका छन् भने गाउँका कच्ची घर तथा विद्यालयहरू भत्किएका छन् । जिल्लामा भूकम्पका कारण जनजीवन प्रभावित भएको छ । भूकम्प पछि पराकम्पन आउन सक्ने भन्दै सुरक्षित ठाउँमा रहन प्रशासनले आग्रह गरेको छ । भूकम्पबाट भएको क्षतिको तथ्यांक संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो भने २ बजेर ४० मिनेट जाँदा बझाङकै तलकोट केन्द्रविन्दु भएर ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा समेत महसुस भएको थियो । भूकम्पको धनगढीसम्म पनि महसुस भएको थियो । त्यस्तै कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही भागमा समेत धक्का महसुस भएको छ ।






