ललितपुरको लगनखेल क्षेत्रको फुटपाथमा बडादसैंको किनमेल गर्ने सर्वसाधारणको भीड बढेको छ। बडादसैं नजिकिँदै जाँदा राजधानीका विभिन्न बजारमा सामान किन्न आउने उपभोक्ताहरूको भीड देखिएको छ। विशेषगरी लत्ताकपडा, जुत्ता, घरायसी सामग्रीदेखि लिएर मिठाइ तथा पूजाआजा सामग्रीसम्म किन्न बजार पस्नेहरूको चहलपहल बढ्दै गएको छ।
व्यापारीहरूका अनुसार यो समयमा बिक्रीमा उल्लेख्य वृद्धि हुने गरेको छ। उपभोक्ताहरू पनि चाडपर्वलाई उल्लासपूर्ण बनाउन आवश्यक तयारी गर्दै बजार धाउन थालेका छन्। काठमाडौं उपत्यकाका अन्य बजारहरू समेत अहिले चाडपर्वको रौनकले भरिएका छन्।






