काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारका घटना दिनप्रतिदिन बढ्दै गएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आर्थिक वर्ष २०८१-०८२ मा नेपाल प्रहरीले १२७ जना पीडित-प्रभावितलाई विदेश र स्वदेशका विभिन्न स्थानबाट उद्धार गरेको बताएको छ ।

दशवटा जिल्लामा रहेका पुनस्र्थापना केन्द्रहरूमार्फत ७५८ र सोही जिल्लाका विभिन्न संघसंस्थामार्फत २ हजार ७ सय ३२ जना गरी जम्मा ३ हजार ४ सय ९० जना पीडित-प्रभावितको उद्धार र पुनःस्थापना गरिएको मन्त्रालयले सार्वजनिक गरेको ‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय प्रतिवेदन २०८१’ मा उल्लेख छ ।

यस्तै, नेपाल–भारत सीमा नाकालगायत विभिन्न स्थानमा रहेका संघसंस्थाका सूचना केन्द्रहरूले सीमा सुरक्षा तथा चेक प्वाइन्टमा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका निकायको सहयोगमा २ हजार ७ सय ६६ जना (६४ दशमलव तीन प्रतिशत) महिला, १ हजार ४ सय ३६ जना (३३ दशमलव चार प्रतिशत) बालिका, १५ जना (शून्य दशमलव चार प्रतिशत) पुरुष र ८३ जना (एक दशमलव नौ प्रतिशत) बालक गरी जम्मा ४ हजार ३ सय जनालाई मानव बेचबिखन तथा ओसारपसारका लागि जोखिम भनि प्रारम्भिक पहिचान गरी उद्धार र फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गत आर्थिक वर्षमा १७ जना बालिका बेचबिखनमा र ४६ जना बालिका अपरहणमा परेका, देशभर छ हजार ५ सय ९० जना बालबालिका (बालिका ७२ प्रतिशत र बालक २८ प्रतिशत) हराएकामा नेपाल प्रहरी, बालबालिका खोजतलास केन्द्र र बाल हेल्पलाइन समेतको सहयोग र समन्वयमा खोजतलास गरी पाँच दशमलव ८३१ लाई फेला पारी पारिवारिक पुनर्मिलन गरिएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत मन्त्रलायले ७५३ वटै स्थानीय तहमा करिब २४ हजार साझेदारी समितिहरू गठन भई महिला हिंसा, लागूऔषध, साइबर अपराध, विपद्लगायत सवारी दुर्घटना न्यूनीकरणका साथै जबर्जस्ती करणी, मानव बेचबिखन, आत्महत्या, बालविवाह, बहुविवाह, दाइजो प्रथाविरुद्ध जनसमुदायमा सचेतना अभिवृद्धि गरेको छ । साथै विद्यालय सम्पर्क कार्यक्रम, सामाजिक अपराध न्यूनीकरण, समुदाय र प्रहरीबीच खेलकुद कार्यक्रम, आगलागी न्यूनीकरणलगायत कार्यक्रमको रूपमा सञ्चालनमा रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय