काठमाडौं । गण्डकी प्रदेशमा चोरी भएका सवारी संख्याको तुलनामा कमै मात्रा भेटिएको छ । गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा चारपाङ्ग्रे दुई वटा सवारीसाधन चोरी भएका थिए भने दुई पाङ्ग्रे ६५ वटा चोरी भएको थियो ।



हराएका कूल ६५ सवारी साधनमध्ये अहिलेसम्म १७ वटामात्र भेटिएका छन् । हराएका मध्ये १ चार पाङ्ग्रे र १६ दुई पाङ्ग्रे गरी १७ वटा सवारी साधन भेटिएका हुन् । ४८ वटा सवारी साधन अझै खोजतलासकै क्रममा छ ।
चालु आर्थिक वर्षमा हालसम्म २ वटा सवारी चोरी भएको उजुरी दर्ता भएको छ । तर, एउटा पनि फेला परेको छैन । पार्किङमा राखिएको समयमा, रातको समयमा घरबाटै सवारी साधान चोरी हुने संख्या बढ्दो छ । गण्डकी प्रदेशको सबैभन्दा धेरै कास्कीबाट सवारी साधन हराएका छन् । त्यसपछि नवलपुर र बागलुङ सवारी हराउनेको शीर्ष स्थानमा रहेको छ ।
गत आर्थिक वर्षमा कास्कीमा १ चारपाङ्ग्रे र ४१ वटा दुइपाङ्ग्रे सवारी हराएको उजुरी परेको थियो । त्यसमध्ये १ चारपाङ्ग्रे र १४ वटा दुइपाङ्ग्रे गरी १५ वटा फेला परे । २७ वटा दुइपाङ्ग्रे सवारी अहिले पनि हराएको सूचिमा छन् । चालु आर्थिक वर्षमा कास्कीमा हालसम्म सवारी चोरी भएको वा हराएको उजुरी परेको छैन ।
फेला परेका सवारी साधन प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । त्यसैगरी नवलपुरबाट १६ वटा दुइपाङ्ग्रे सवारी चोरी भएको भन्दै खोजी गरिदिन निवेदन परेको थियो । जसमध्ये हालसम्म एउटा पनि फेला परेको छैन् । यो आर्थिक वर्षमा नवलपुरबाट एउटा दुइपाङ्ग्रे सवारी हराएको उजुरी परेको छ ।
गत आर्थिक वर्षमा बागलुङबाट १ चारपाङ्ग्रे र ३ दुइपाङ्ग्रे सवारी हराएको निवेदन परेको थियो । जसमध्ये १ चारपाङ्ग्रे र १ दुइपाङ्ग्रे सवारी फेला पारेर प्रहरीले सवारी धनीलाई हस्तान्तरण गरेको छ । चालु आर्थिक वर्षमा हराएको १ गरी ३ वटा दुइपाङग्रे सवारी अहिले पनि हराएको सूचिमा छन् ।
त्यसैगरी गत आर्थिक वर्षमा तनहुँमा २ वटा दुइपाङ्ग्रे सवारी हराएको निवेदन प्रहरीमा परेको थियो । अहिलेसम्म दुवै हराएको सूचीमा छन् । गत आर्थिक वर्षमा म्याग्दीमा पनि एउटा २ पाङ्ग्रे सवारी हराएको थियो । हालसम्म भेट्टिएको छैन ।
हराएको सवारीको तुलनामा भेट्टिनेको सङ्ख्या न्यून रहे जस्तै सवारी साधन चोर्ने व्यक्ति पनि भेटिएका छैनन् । अघिल्लो आर्थिक वर्षमा बागलुङबाट हराएका १ चारपाङ्ग्रे र १ दुइपाङ्ग्रे सवारी फेला परे पनि सवारी चोरी गर्ने व्यक्ति हालसम्म फेला परेको छैन ।



