पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियामा गए राति भएको बस–ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्।

जनकपुरबाट काकडभिट्टा जाँदै गरेको मधेसी प्रदेश ०२–००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आउँदै गरेको ना ३ ख ४४०२ नम्बरको ट्रक एकअर्कामा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा करिब ५० वर्षका एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ। बसमा सवार ५५ मध्ये ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये बस चालक प्रवीण कुमार विश्वकर्मासहित नेपाल र भारतका विभिन्न स्थानका यात्रु छन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधव प्रसाद काफ्ले नेतृत्वको टोलीले घाइतेको उद्धार गरी धर्मेश्वर अस्पतालमा प्रारम्भिक उपचार गरेको र थप उपचारका लागि विराटनगर पठाइएको जानकारी दिएको छ।

दुर्घटनापछि ट्रक चालक फरार रहेको र प्रहरीले खोजी तथा थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय