काठमाडौं । विश्व सिमसार दिवसको अवसर पारेर बर्दिया राष्ट्रिय निकुञ्जले दुर्लभ तथा लोपोन्मुख प्रजातिका रूपमा चिनिने घडियाल गोहीको संरक्षणमा महत्वपूर्ण कदम चालेको छ । निकुञ्जअन्तर्गत सञ्चालन भइरहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका चार वर्ष उमेरका १० वटा घडियाल गोहीलाई प्राकृतिक नदी प्रणालीमा पुनःस्थापना तथा स्थानान्तरण गरिएको हो ।
निकुञ्ज व्यवस्थापनका अनुसार ती घडियाल गोहीमध्ये पाँच वटा बर्दिया राष्ट्रिय निकुञ्जभित्रै पर्ने खौराहा खोलाको माथिल्लो क्षेत्रमा, गैंडा मचान आसपास छाडिएको छ । बाँकी पाँच वटा घडियाल गोहीलाई बाँके राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरी सुरक्षित वातावरणमा राखिएको निकुञ्जले जनाएको छ । प्राकृतिक वासस्थानमा घडियाल गोहीको संख्या वृद्धि गर्ने र जैविक सन्तुलन कायम राख्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।



संरक्षणविद्हरूका अनुसार घडियाल गोही प्रायः सफा र बग्ने पानीमा बस्ने जीव हो। यी गोही सामान्यतया मानिसका लागि अहिंसक मानिन्छन् र मुख्य रूपमा माछामाथि निर्भर रहने गर्छन् । तर, पछिल्ला वर्षहरूमा नदी तथा खोलामा बढ्दो प्रदूषण, अव्यवस्थित उत्खनन, अतिक्रमण, माछा मार्न प्रयोग गरिने जाल तथा बल्छी जस्ता कारणले घडियाल गोहीको प्राकृतिक वासस्थान खुम्चिँदै गएको छ । यसले गर्दा नेपालसहित विश्वका विभिन्न स्थानमा यो प्रजाति संकटमा परेको संरक्षणविद्हरू बताउँछन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक रामका अनुसार घडियाल गोही विश्वव्यापी रूपमा लोपोन्मुख प्रजातिको सूचीमा सूचीकृत छ । सोही अवस्थालाई मध्यनजर गर्दै निकुञ्जले घडियाल गोहीको संरक्षण, प्रजनन र सुरक्षित पुनःस्थापनाका लागि गोही प्रजनन केन्द्र स्थापना गरी निरन्तर काम गर्दै आएको उहाँले जानकारी दिनुभयो । प्राकृतिक वातावरणमा छाडिएका घडियाल गोहीको निगरानीसमेत नियमित रूपमा गरिने निकुञ्जको भनाइ छ ।
विश्व सिमसार दिवसकै अवसरमा निकुञ्जले सिमसार क्षेत्रको संरक्षण र वातावरणीय सचेतना बढाउने उद्देश्यले सरसफाइ कार्यक्रम पनि सञ्चालन गरेको छ । अमरेनीदेखि कर्णाली चिसापानीसम्म तथा सैनावारदेखि रम्मापुरसम्मका विभिन्न सडक खण्डमा सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती क्षेत्रका उपभोक्ता समूह, सिभिएपियु तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) का प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
निकुञ्ज व्यवस्थापन पक्षका अनुसार घडियाल गोहीको संरक्षण केवल निकुञ्जको जिम्मेवारी मात्र नभई नदी प्रणालीसँग प्रत्यक्ष रूपमा जोडिएका समुदाय, स्थानीय निकाय र सरोकारवाला सबैको साझा दायित्व हो । यस्ता कार्यक्रमले जैविक विविधता संरक्षणसँगै सिमसार क्षेत्रको महत्वबारे जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



