काठमाडौं । पाकिसकेको धानबाली भित्र्याउने बेलामा लगातारको झरीले खेतमै धान उम्रिने हो कि भन्ने चिन्ता किसानलाई परेको छ । धान काटेर सुकाउन खेतमा पाजो राखेका किसानलाई मोन्था चक्रवतका कारण दुई दिनदेखिको परेको पानीले धान खेतमै उम्रिने हो कि चिन्ता परेको हो ।
बिहीबार बिहानैदेखि लगातार पानी परेपछि काटेर राखेका धान भिजेको छ । अहिले किसानमा धान खेतमै उम्रिने अवस्था बनेपछि चिन्ता थपिएको छ । वर्षभरि खाने खेती केही दिनभित्रै भित्र्याउने किसानको योजनासमेत पानीले बिथोलेको छ । धान काटेर घरमा भित्र्याउने बेलामा पानीले बिथोले पछि उनीहरुमा थप पीडा बढेको छ ।



धान खेती प्रमुख बालीको रुपमा रहेको पाल्पाका किसानलाई पाकेको धान भित्र्याउन नपाउँदा स्याहार्न नपाउँदा थप चिन्तित बनेका छन् । पाल्पामा यो वर्ष आठ हजार ६२० हेक्टर क्षेत्रमा धानखेती भएको तथ्यांक छ । जिल्लाका अधिकांश स्थानका किसानको यतिबेला धान भित्र्याउने समय थियो । पाल्पाका ५० प्रतिशत किसानले तिहारअघि नै धान काटेर पाजा र मुठा बनाई खेतमै सुकाएका थिए भने ५० प्रतिशत भूभागका किसानले काट्ने तयारी गरेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।



