दाङ । दाङको भालुवाङ पुल्चोककी बलात्कृत बालिकाको न्यायको माग राख्दै स्थानीय संघर्ष समिति प्रदर्शनमा उत्रिएको छ । प्रदर्शनकारीले राप्ती गाउँपालिका–१, भालुवाङमा प्रहरी चौकी र सशस्त्र प्रहरी क्याम्प घेराउ गरेको छ ।
प्रदर्शनकारीले प्लेकार्डसहित गरेको प्रदर्शनमा बलात्कारीलाई सार्वजनिक गर, अपराधी लुकाउन पाईदैन, सत्यतथ्य बाहिर ले, न्याय मार्न पाइदैन र बलात्कारीलाई फाँसी दे लगायत नारा लगाएका थिए स्थानीय र पीडित पक्षले घटना ढाकछोप गर्ने प्रयास भइरहेको आरोप लगाउँदै दोषीलाई यथाशीघ्र पक्राउ गरी सार्वजनिक गर्न चेतावनी दिएको छ । सशस्त्र प्रहरी क्याम्प नजिक बनाइएको पीङ खेल्न गएकी ८ वर्षीया बालिका बलात्कारमा परेको घटना सार्वजनिक भएपछि ईलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको छ । पीडित बालिकासँगै रहेकी अर्की एक १५ वर्षीया बालिकालाई प्रहरीले अनुसन्धानको लागि भन्दै १४ दिनदेखि नियन्त्रणमा लिएको छ ।



नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईवीको टिमले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरेर सार्वजनिक नगर्दासम्म संघर्ष जारी राख्ने समितिले चेतावनी दिएको छ । त्यस्तै कार्तिक ८ गते मध्याह्न १२ बजे देखि ४ बजे सम्म पूर्व–पश्चिम राजमार्ग बन्द गर्ने र बेलुका ६ बजे देखि राँके जुलुस निकाल्ने निर्णय भएको संघर्ष समितिका संयोजक सुरज खड्काले जानकारी दिनुभएको छ ।
यसैबीच दाङको राप्ती गाउँपालिकाले समेत प्रेस विज्ञप्ती जारी गर्दै बालिका बलात्कारको घटना तत्काल छानबिन गरी दोषी उपर कडा कार्वाहीको माग गरेको छ ।
यस्तै नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटी, लमही होटेल व्यवसाय समिति, राप्ती प्रेस मञ्च राप्तीले समेत छुट्टाछुट्टै विज्ञप्ती जारी गरी तत्काल बलात्कारीलाई पक्राउ गरि सार्वजनिक गर्न र हदैसम्मको कार्वाहीको माग गरेका छन् । साथै उनीहरूले संघर्ष समितिले सुरू गरेको चरणबद्ध आन्दोलनलाई समेत ऐक्यबद्धता जनाएको छ ।



