काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्रा औपचारिकरुपमा सुरु भएको छ । आज बिहान १० बजेर ३७ मिनेटको शुभसाइतमा हनुमान ढोका (कालभैरव क्षेत्र) बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिए पछि इन्द्रजात्रा औपचारिकरुपमा सुरु भएको हो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ ।
यसैबीच, इन्द्रजात्राको अवधिमा असोज ११ गतेदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्राको अवधिमा असोज ११ गते वसन्तपुर, मरु, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।



यस्तै, असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेङ्गल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । महानगरले यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायत व्यवस्थापनमा सहयोग पु¥याउन समेत आग्रह गरेको छ । यसैबीच, काठमाडौं महानगरपालिकाले ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका २० जना विदेशी पाहुनालाई जात्रा हेर्न आमन्त्रण गरेको छ ।



