काठमाडौं । निजी विद्यालयहरू संगठित प्याब्सन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपालले सरकारले प्रस्ताव गरेको शिक्षा विधेयकका विभिन्न प्रावधानहरूलाई निजी क्षेत्रको हितविरुद्ध रहेको भन्दै शुक्रबार देशव्यापी विरोध प्रदर्शन गरेका छन् । प्याब्सनले बिहान ११ बजेदेखि देशभरका विद्यालयका सवारी साधनहरूमा कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोक–चोकमा प्रदर्शन गरेका हुन् ।
राजधानी काठमाडौंमा भने सवारी साधनहरूले २७ किलोमिटर लामो चक्रपथ वरिपरि सुस्त गतिमा परिक्रमा गर्दै विधेयकविरुद्धको आक्रोश पोखेका छन् । प्याब्सनले शिक्षा विधेयकमा प्रस्तावित कतिपय प्रावधानहरूले निजी क्षेत्रको लगानी, स्वतन्त्रता र व्यवस्थापनमाथि ठुलो हस्तक्षेप गर्ने खालको भएको बताएको छ । प्याब्सन भन्छ, “विधेयक लागू भएमा निजी शिक्षाको अस्तित्व नै संकटमा पर्न सक्छ ।” विरोध प्रदर्शनको दोस्रो चरण अन्तर्गत प्रदर्शनकारी माइतीघर मण्डलामा भेला भएका छन्, जहाँबाट संघीय संसद् घेराउ गर्ने कार्यक्रम तय गरिएको प्याब्सनले जनाएको छ ।



यसअघि पनि विधेयकमा सुधारको माग गर्दै निजी विद्यालय संघहरूले शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । तर, माग सम्बोधन नभएपछि उनीहरूले सडक संघर्षको बाटो रोज्नुपरेको बताएका छन् । शिक्षा मन्त्रालयले संसदमा पेस गरेको नयाँ शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई कम्पनीको रूपमा दर्ता गर्ने व्यवस्था हटाएर ट्रष्टमा परिणत गर्नुपर्ने, शुल्क संरचना कडा बनाउने, तथा सम्पत्ति राज्यलाई जाने जस्ता व्यवस्थाहरू प्रस्ताव गरिएको छ। निजी क्षेत्रले यसलाई अस्वाभाविक र भेदभावपूर्ण बताएका छन् । सरकार पक्षले भने सबै शिक्षा संस्थालाई समावेशी, उत्तरदायी र गुणस्तरीय बनाउने लक्ष्यसहित विधेयक ल्याइएको बताउँदै आएको छ।



