केन्द्रमा भएको सत्ता साझेदारीको सहमतिपछि बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चितजस्तै भएको छ। एमालेले संसदीय दलको नेता परिवर्तन नगर्ने निर्णय गर्दै जगन्नाथ थपलियालाई नै मुख्यमन्त्रीका रूपमा अघि बढाउने तयारी गरेको छ। तर सरकार गठनका लागि आवश्यक बहुमत अझै नपुग्दा राजनीतिक अंकगणित भने निर्णायक बनेको छ। हाम्रो संवाददाता।।।

केन्द्रमा एमाले र नेकपाबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएको छ। यसैबीच एमालेले संसदीय दलको नेता परिवर्तन नगर्ने निर्णय गर्दै जगन्नाथ थपलियालाई नै निरन्तरता दिएको छ। अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलपछि थपलियालाई नै दलको नेता कायम राख्ने सहमति भएको हो। यससँगै उनी मुख्यमन्त्री बन्ने बाटो पनि खुलेको छ।

दलभित्र केही दिनदेखि नेतृत्व परिवर्तनको विषयमा विवाद भए पनि अन्ततः शीर्ष नेतृत्वले वर्तमान नेतृत्वलाई नै निरन्तरता दिएको हो। अब सरकार गठनका लागि सबैभन्दा ठूलो चुनौती भने आवश्यक बहुमत जुटाउनु रहेको छ।

हाल बागमती प्रदेशसभामा ११० मध्ये ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन्। सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमालेसँग २५ र सत्ता साझेदार नेकपासँग २६ सांसद गरी ५१ मत मात्रै रहेकाले सरकार बनाउन थप दुई सांसदको समर्थन आवश्यक छ।

यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), हाम्रो नेपाली पार्टी तथा अन्य सांसदसँग छलफल जारी रहेको एमाले नेताहरूले बताएका छन्। आवश्यक समर्थन जुटेपछि जगन्नाथ थपलियाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी रहेको छ। नेतृत्व विवाद टुंगिए पनि बागमती प्रदेशमा नयाँ सरकार गठनको टुंगो अब राजनीतिक अंकगणित र अन्य दलको समर्थनमा निर्भर रहने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय