काठमाडौं । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विविध सांस्कृतिक तथा जनचेतनामूलक कार्यक्रमसहित भव्य रूपमा मनाउँदैछ । मातृभाषा संरक्षण, भाषिक पहिचानको सम्मान र बहुभाषिक संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले प्रत्येक वर्ष वैशाख २४ गते प्रदेश भाषा दिवस मनाउने परम्परा सुरु गरेको हो ।

प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० कार्यान्वयनमा आएको दिनको सम्झनामा स्थापना गरिएको यो दिवसले भाषिक विविधतालाई संस्थागत सम्मान दिनुका साथै स्थानीय भाषा, साहित्य र संस्कृतिप्रति जनचासो बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । उक्त ऐन २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । ऐनअनुसार राजपत्रमा प्रकाशन भएको १८० दिनपछि कार्यान्वयनमा आउने व्यवस्था रहेकाले २०८१ वैशाख २४ गतेदेखि ऐन लागू भएको थियो । सोही दिनलाई आधार मानेर प्रदेश सरकारले पहिलो पटक प्रदेश भाषा दिवस मनाएको थियो । यस वर्ष भने तेस्रो संस्करणका रूपमा दिवसलाई अझ व्यापक र आकर्षक ढंगले मनाउन लागिएको हो ।

दिवसको अवसरमा आज बिहान भक्तपुर दरबार क्षेत्र आसपासका क्षेत्रमा विशेष र्याली आयोजना गरिएको छ । दूधपाटीबाट सुरु हुने र्याली दत्तात्रेय, कमलविनायक हुँदै लन्चा फल्चा भत्क्यापाटीसम्म पुगेको थियो । र्यालीमा विभिन्न जातीय समुदायका सांस्कृतिक झाँकी, परम्परागत बाजागाजा, स्थानीय पोसाक तथा भाषिक पहिचान झल्काउने प्रस्तुति समावेश गरिएको थियो ।

बागमती प्रदेश बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको प्रदेश भएकाले यहाँ बोलिने विभिन्न मातृभाषाको संरक्षण र प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । प्रदेश भाषा दिवसले भाषिक अधिकार सुनिश्चित गर्नुका साथै नयाँ पुस्तामा मातृभाषाप्रति गौरव र अपनत्वको भावना विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यस अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ । दिवसका अवसरमा सरकारी तथा गैरसरकारी निकाय, साहित्यिक संस्था, भाषा अभियन्ता र स्थानीय समुदायले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय